Monday, August 12, 2013

जीवन अब धरालाई

जीवन अब धरालाई
लेखक :होमनाथ शर्मा
हावा चल्दै हरर बिहानीसंगै शीत थोपा  .
पर्दै आयो अनि गगनमा लालिमा मुस्कुरायो ..
सोच्दा सोच्दै हृदयतालमा भावना धेर आयो .
आफ्नो यो जीवन अब धरामा दिने आँट ल्यायो ..
काला काला गगन भरिका मेघ माला अनेक .
बोकी बोकी सलिल धरती पारने हुन् पवित्र ..
फोका पानीसंग तन बिलीनै बनाएर नित्य .
धर्ती पारुँ अब सब हरा उर्बरा नै प्रसस्त ..
सारंगीका मधुर स्वरमा गीत गन्धर्व गायो .
यै माटाका कण कण सबैका कथा त्यो बतायो ..
डाँफे मैना मधुर स्वरमा भूमि गाथा सुनायो .
भाका नौला युवतीहरुका पारि पाखा रमायो ..


पाऍ थाहा यस भुवनमा जन्म राम्रै भएछ .
मेरै मीठा बचन संगनै देश बोल्दो रहेछ ..
मेरै प्रत्येक पद पदमा देश हिड्दो रहेछ .
मेरै भित्री हृदय तलमा ज्ञान बल्दो रहेछ ..
बोली देउ अब बन चरी पारि पाखा पखेरा .
आयो आयो अब युग नयाँ छैन सन्ताप तिम्रा ..
फाटे लौ बादलहरु सबै भाग्न थाले अध्यारा .
झुल्के झुल्के अब रवि शशी दिग्दिगन्तै उज्याला ..
लौ है जाऊँ म त सगरको माथमा पुग्नलाई .
माता धर्ती अमर नगरी लोकमा पार्नलाई ..
मान्छे मेरा यस मुलुकका देवता लौ बनाऊँ .
आफ्नो यो जीवन अब धरालाई आफै चढाऊँ ..
---------------
लेखक : होमनाथ शर्मा
चिदीपानी गा.वि.स -९, पाल्पा

मोबाइल नं- ९८४७०३९४४०

No comments:

Post a Comment

THANKS